इस्टर्न रिजनको खेल तालिका परिवर्तन, नेपालले पहिलाे खेल मलेसियासँग खेल्ने
एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका परिवर्तन भएको छ । भुटान, चीन र म्यानमारले सहभागिता नजनाउने भएपछि तालिका परिवर्तन भएको छ ।
१५ फागुनदेखि थाइल्याण्डमा हुने प्रतियोगितामा अब नेपालले पहिलो खेल मलेसियासँग खेल्नुपर्नेछ । दोस्रो खेल हङकङ, तेस्रो थाइल्याण्ड र अन्तिम खेल सिंगापुरसँग खेल्नेछ ।
प्रतियोगिताका विजेता र उपविजेता टीमले क्वालिफायर खेल्नेछ । वेस्टर्न एसिया र इस्टर्न एसियाका चार टीम बीच हुने क्वालिफायर खेलका बिजेताले एसियाकप खेल्नेछ ।
टेष्ट खेल्ने भारत, पाकिस्तान, बांग्लादेश, श्रीलंका र अफगानिस्तानसँग क्वालिफायर बिजेता टीमले एसिया कप खेल्नेछ ।
त्यसका लागि नेपालले कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ जनाको खेलाडी घोषणा गरेको छ । टीममा कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिं ऐरी, पूर्व कप्तान पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, कुशल मल्ल, सुशन भारी, पवन सर्राफ, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की छन् ।
लामो समयदेखि टीममा पर्न नसकिरहेका भुवनले यसपटक अवसर पाएका छन् भने सोमपाल कामी, सुवास खकुरेल, शरद भेषवाकर, रोहितकुमार पौडेल, बसन्त रेग्मी टीममा समावेश छैनन् ।