संकटासँग एपीएफ पराजित
जारी शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टीम सशस्त्र प्रहरी बल (एपीएफ) संकटा क्लबसँग पराजित भएको छ ।
गत संस्करणको उपबिजेता संकटा सँग एपीएफ ४–२ गोल अन्तरले पराजित भएको हो । दशरथ रंगशालामा संकटाले पहिलो हाफमै २–० को सहज अग्रता बनाएको थियो ।
संकटाका लागि १९औं मिनेटमा लक्ष्मण रुचाल र ४४औं मिनेटमा कर्ण लिम्बुले गोल गरेका थिए । दोस्रो हाफको ५३औं मिनेटमा फेरि संकटाका लागि अजेय मार्टिन्सले गोल थपे ।
३–० ले पछाडि परिसकेको एपीएफले ५६औं र ७२औं मिनेटमा लगातार गोल गर्दै खेलमा फर्कने प्रयास गरेको थियो । तर, फेरि ८६औं मिनेटमा संकटाले गोल थपे पछि एपीएफ पराजित हुन पुग्यो ।
जितसँगै, संकटले पाँच खेलबाट सात अंक जोड्दै अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ ।