कांग्रेस सभापतिमा २९ सय गन्दा २४ मत बदर
नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा पनि थुप्रै मत बदर भएका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, २९६३ मत गणना हुँदा २४ मत बदर भएका छन्। यसअघि पहिलो चरणमा भएको निर्वाचनमा ७७ मत बदर भएका थिए।
अहिलेसम्मको मतपरिणाम अनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले १७८८ मत पाएका छन् भने डा. शेखर कोइरालाले ११५१ मत प्राप्त गरेका छन्।
काठमाडौंको राष्ट्रिय सभागृहमा राति सवा ११ बजेदेखि मतगणना शुरू भएको हो। मंगलबार अपराह्न साढे ३ बजेबाट शुरू भएको मतदान राति साढे ९ बजेसम्म जारी थियो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, ४७४३ मतदातामध्ये ४५६४ जनाले मतदान गरेका छन्। सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत पाउनुपर्छ।