फेरि सर्यो एमाले स्थायी कमिटी बैठक
दोस्रो तहका नेता सहभागी हुने भनेर आज बिहान बोलाइएको नेकपा (एमाले) स्थायी कमिटीको बैठक सरेको छ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएपछि एकताको प्रयासमा रहेका दोस्रो तहका नेतासँगको छलफलपछि अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएका थिए। आन्तरिक तयारी गर्नुपर्ने भन्दै स्थायी कमिटी बैठक सारिएको छ।
आजै अपराह्न ३ बजे बस्ने गरी स्थायी कमिटी बैठक सरेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। “आन्तरिक तयारी गर्नुपर्ने भएकाले बैठक सारिएको हो,” तामाङले भने।
सोमबार एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल लगायत दोस्रो तहका नेताहरूसँग अध्यक्ष ओलीले छलफल गरेका थिए। ओली निवास बालकोटमा भएको छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति बनेको थियो।
त्यसपछि अलमलमा रहेका नेपाल पक्षका दोस्रो तहका नेताहरू पनि स्थायी कमिटी बैठकमा सहभागी हुन सहमत भएका थिए। उनीहरूको सल्लाहमै अध्यक्ष ओलीले आज बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएका थिए।
अब एमाले स्थायी कमिटी बैठक आज अपराह्न ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको सभाकक्षमा बस्ने भएको छ।