फिल्मका 'भिलेन' कोरोना महामारीमा कसरी बने मजदूरहरुको हिरो ?
सोनू सूद (४६) बलिउड र दक्षिण भारतीय फिल्महरुमा अक्सर नकारात्मक चरित्रमा देखा पर्छन्। अरु भिलेन जस्तै उनी पनि राम्रो काममा अघि बढिरहेका पात्रलाई भाँजो हाल्न कुनै कसर बाँकी छाड्दैनन्।
उनै भिलेन वास्तविक जीवनमा भने दीनदु:खीको मर्म बुझ्ने र धेरै सहयोगी छन्। कोरोनाभाइरस महामारी रोकथामका लागि भारतमा लागू गरिएको लकडाउन (बन्दाबन्दी) मा उनको सहयोगी व्यक्तित्व अझ प्रकट भएको छ। बन्दाबन्दीका कारण भारतका विभिन्न ठाउँमा अलपत्र परेकाहरुलाई उनीहरुका गाउँठाउँमा पुर्याउने बन्दोबस्तमा सोनू व्यस्त छन्।
बन्दाबन्दीमा फसेकाहरुले सहयोग माग्दै उनीसँग ट्विटर मार्फत सम्पर्क गर्ने गरेका छन्। त्यसका लागि उनले फसेका मानिसको संख्या, फोन नम्बर, पुग्नुपर्ने गन्तव्यसहितको विस्तृत विवरण माग्ने गरेका छन्।
ट्विटरमा कसैले उनलाई मेन्सन गरेर लेख्यो, 'सोनू सूद सर, मुम्बई सेन्ट्रल नजिकै हामी पाँच जना छौं। दरभंगा बिहान पठाइदिनुस् न।"
सोनूले जवाफ लेखे, 'पर्सि आमाको काखमा निदाउन घर पुग्नेछौ मेरो भाइ। सामान बाँध्न थाल।'
पछिल्लो कैयौं दिनदेखि सोनू सूद बन्दाबन्दीमा फसेका खासगरी मजदूरहरुलाई घर पुर्याउने हरसम्भव प्रयासमा लागिरहेका छन्। अभरमा परेकाहरुलाई गन्तव्यमा पुर्याउन उनी बसको व्यवस्था गर्नेदेखि खाने-पिउनेसम्मका व्यवस्था गर्ने गर्छन्।
पढाइले इञ्जिनियर यी अभिनेताको यो कामको भारतमा निकै तारिफ भइरहेको छ। ट्विटरमा ह्यास ट्याग सोनू सूद ट्रेन्डिङमा आइरहेको छ। मानिसहरुले उनलाई 'लकडाउनका हिरो' को संज्ञा दिन थालेका छन्। कतिसम्म भने, बलिउडमा शाहरुख, सलमान र आमिर रिलका मात्र हिरो, 'रियल लाइफ हिरो' भने सोनू रहेको बताउनेहरु बढिरहेका छन्।
प्रदेश सरकारसँगको समन्वयमा सहयोग
भारतीय समाचार एजेन्सी पीटीआईलाई केही दिनअघि दिएको अन्तर्वार्तामा सोनूले गरीब र मजदूरको दु:ख देखेर चुपचाप बस्न नसकेको र उनीहरुलाई घर पुर्याउन भरपूर कोशिश गर्ने बताएका थिए।
कोरोनाभाइरस संक्रमण जोखिमका बीच भारतमा लागू गरिएको बन्दाबन्दीका कारण हजारौं मजदूर विभिन्न ठाउँमा फसिरहेका छन्।
बन्दाबन्दीको पहिलो चरणको घोषणापछि राज्य-राज्यबीचको यातायात र रेल सेवा बन्द गरिएको थियो। त्यसका कारण ठूलो संख्यामा मजदूरहरु पैदल नै आफ्नो घर जान बाध्य भएका थिए। यस्तो संकटको वेला सोनू सूद मजदूरहरुका लागि राहत बनेर देखा परेका छन्।
सोनूले उत्तर प्रदेश सरकारसँग अनुमति लिएर मज़दूरहरुलाई घर पठाउन बसहरुको व्यवस्था गरेका छन्। यसअघि उनले कर्नाटकका कैयौं मजदूरलाई बसको बन्दोबस्त मिलाएर घर पठाएका थिए।
यो अभियानबारे सोनूले भनेका छन्, "सडकमा पैदल नै लामो यात्रा गरेर आफ्नो घर गइरहेका मजदूरलाई देखेर मलाई धेरै पीडा हुन्छ। म तबसम्म उनीहरुलाई घर पुर्याउन मद्दत गरिरहनेछु, जबसम्म समस्या परेको अन्तिम मजदूरको आफ्नो परिवारसँग मिलन हुँदैन।"
सोनूले उत्तर प्रदेश, बिहार, झारखण्ड र कर्नाटक लगायत राज्यहरुमा मजदूरहरुलाई घर पठाउन सहयोग गरेका छन्।
यसअघि उनले कोरोनाभाइरस विरुद्धको लडाइँमा चिकित्सा सामग्री पनि सहयोग गरेका थिए। पञ्जावका चिकित्सक र स्वास्थ्यकर्मीका लागि १ हजार ५ सय व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उनले दिएका थिए। यति मात्र होइन, उनले मुम्बईमा रहेको आफ्नो होटल स्वास्थ्यकर्मीलाई बस्न उपलब्ध गराएका थिए।
सोनू रमजानको यो महीनामा महाराष्ट्र राज्यको भिवन्डी क्षेत्रमा कैयौं गरीब र मजदूरहरुलाई खाना खुवाउने व्यवस्था पनि मिलाइरहेका छन्।
नरिवल फोडेर मजदूरहरुलाई बसमा बिदा गरेको उनको एक भिडियो इन्टरनेटको सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। मानिसहरु उनको तारिफ गर्दै मिम र तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरिरहेका छन्।
ट्विटर प्रयोगकर्ताहरुले फिल्ममा खलनायकको भूमिका निर्वाह गर्ने सोनू वास्तविक दुनियाँमा हिरो भएको बताइरहेका छन्। मनीष भन्ने प्रयोगकर्ताले लेखेका छन्, "यो वेला सोनू सूद सबैभन्दा प्रभावशाली केन्द्र र राज्य सरकार हुन्।" - बीबीसी हिन्दीबाट।