राष्ट्रपतिमा भण्डारीलाई समर्थन गर्ने राजपाको निर्णय
राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रपति चुनावमा विद्यादेवी भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको छ ।
राजपा अध्यक्षमण्डलको आजको बैठकले राष्ट्रपति निर्वाचनमा भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको महासचिव केशव झाले जानकारी दिए ।
उनका अनुसार वाम गठबन्धन सरकारमा सहभागी हुनेबारे पछिल्ला दिनमा भइरहेको छलफल सकारात्मक बन्दै गएको छ ।
सत्ता नेतृत्वकर्ता एमाले र माओवादी केन्द्रसँग भइरहेको छलफल सकारात्मक ढंगले अघि बढिरहेकाले राष्ट्रपतिमा भण्डारीलाई समर्थन गर्ने निर्णय भएको झाले बताए ।
महासचिव झाले संविधान संशोधनमा कुरा मिलेपछि सरकारसँग सहकार्य गर्ने गरी छलफल चलिरहेको र सोही आधारमा भण्डारीलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको बताए ।
२९ फागुनमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । मुलुकको तेस्रो राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसकी नेतृ लक्ष्मी राई चुनावी प्रतिस्पर्धामा छन् ।