मनोनीत राष्ट्रिय सभाका तीन सदस्यले शपथ लिन पाउने
राष्ट्रियसभामा मनोनित तीन जना सांसद्को सपथग्रहण रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेज भएको छ ।
आज सर्वोच्च अदालतले अन्तरिम आदेश खारेज गरेसँगै मनोनीत तीन सांसद्ले शपथ लिन पाउने भएका हुन् ।
न्यायाधीशद्वय केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको इजलासले अर्थ तथा योजनामन्त्री समेत रहेका डा. युवराज खतिवडा, डा. विमला राई पौड्याल र रामनारायण बिडारीको शपथ फुकुवा गरेको हो ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेको तीनजना सांसदको नाम केपी ओली नेतृत्वको सरकारले फिर्ता लिएको थियो ।
ओली सरकारले खतिवडा, बिडारी र पौड्याललाई राष्ट्रियसभामा सिफारिस गरेको थियो । लगत्तै तीनै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनीत गरेकी थिइन ।
देउवा नेतृत्वको सरकारले सिफारिस गरेका चाँदनी जोशी, गोपाल बस्नेत र कृष्णप्रसाद पौडेलले आफूहरूको नाम स्वीकृत नभएको भन्दै सर्वोच्चमा मुद्दा हालेका थिए ।