जिल्लाको अधिकार कटौती गर्ने कार्य रोकियोस्: नेता नेपाल
पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले नेता माधवकुमार नेपालले औचित्य र आधार पुष्टि नगरेसम्म संविधान संशोधन हुन नसक्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा २९ भदौमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता नेपालले कसैको रहरका लागि संविधान संशोधन गरिरहनु नपर्ने जिकिर गरे। उनले संविधान संशोधनबारे सरकारले अहिलेसम्म कुनै जानकारी नदिएको र मुलुकको आवश्यकता र हित हुने स्थिति भएमात्र संविधान संशोधन गर्न सकिने र यसका लागि एमाले पार्टीलाई सन्तुष्ट पार्नुपर्ने स्पष्ट पारे ।
मधेसवादी दललाई पनि सन्तुष्ट गर्ने काम सरकारको भएको धारणा व्यक्त गर्दै पूर्व प्रधानमन्त्री नेपालले मधेसवादी दललाई सहमतिमा लिएर अघि बढ्नु उपर्युक्त हुने धारणा व्यक्त गरे ।
अर्को प्रसँगमा नेता नेपालले स्थानीय तह पुनर्संरचना आयोगले गर्न लागेको पुनःसंरचनाको कार्य गलत भएकाले जिल्लाको अधिकार कटौती गर्ने कार्य तत्काल रोक्नुपर्ने धारणा व्यक्त गरे । रासस