नेपालगञ्जको मेयरमा धवल शम्शेर निर्वाचित, उमपेयरमा उमा
नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डा. धवल शम्शेर राणा निर्वाचित भएका छन् ।
तीन ठूला दलका उम्मेदवारहरुलाई भारी मतान्तरले पछाडि पार्दै राप्रपाका राणा नेपालगञ्जको मेयरका रुपमा निर्वाचित भएका हुन् । उनी २०५४ सालमा समेत नेपालगञ्जको मेयर थिए ।
आज २० असार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार राणा १२,५१५ मत प्राप्त गरी बिजयी भए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. सुरेश कनोडियाले ८ हजार ७३० मत प्राप्त गरे । नेकपा माओवादी केन्द्रका दामोदर आचार्यले ७ हजार १९८, एमालेका सम्सुद्दिन सिद्दिकीले ६ हजार ९६५ मत प्राप्त गरे ।
त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी उमा थापामगर १०,७३१ मत प्राप्त गरी बिजयी भइन् । उनकी निकटतम प्रतिस्पर्धी राप्रपाका रमारानी वैश्यले ८ हजार ९२४ मत प्राप्त गरिन् ।
उपमेयरमा निर्वाचित मगर लामो समयदेखि पत्रकारिता पेशा गर्दै आएकी हुन् । उनी प्रेस युनियनकी केन्द्रीय नेतृ समेत हुन् ।
यसैबीच बाँकेको बैजनाथ गाउँपालिकामा एमाले बिजयी एमालेका मानबहादुर रुचाल ठकुरी ९,७७२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका छन् । उक्त गाउँपालिकाको उपप्रमुखमा एमालेकै शारदा विक रेग्मीले ९,७३८ मत प्राप्त गरी विजयी भइन् ।
केशव राना/बाँके