वातावरणमैत्री टेम्पो नहटाऊ
सरकारले २० वर्ष पुराना सवारीसाधन हटाउने निर्णय गरेसँगै यतिबेला विद्युत्बाट चल्ने टेम्पो पनि हटाउने तयारी थालेको भन्दै वातावरणविद् तथा व्यवसायीले चिन्ता व्यक्त गरेका छन्।
उपत्यकाका करीब सात सय विद्युतीय टेम्पोले ५६ लाख रूख बराबरको प्रदूषण नियन्त्रण गर्न सहयोग पुर्याइरहेको उनीहरूको तर्क छ।
काठमाडौं विश्वविद्यालय वातावरण विज्ञान तथा इन्जिनियरिङ विभागका प्राध्यापक सञ्जयनाथ खनाल सरकारले विद्युतीय सवारी साधनलाई निरुत्साहित गर्ने गरी २० वर्ष पुराना गाडी हटाउने अभियान थालेको बताउँछन्।
उनी भन्छन्, “गाडीको अवस्था जाँचेपछि मात्र प्रदूषण निम्त्याउने सवारी साधन हटाउनुपर्छ।”
दैनिक ४ करोड ५५ लाख ६० हजार लिटर कार्बनडाइअक्साइड उत्सर्जन हुनबाट जोगाएका विद्युतीय टेम्पोले दैनिक करीब १ लाख २० हजार यात्रु बोकिरहेका छन्।
पेट्रोलियम पदार्थ खरीदमा खर्च हुने करीब रु.२ अर्ब २६ करोड रकम जोगाएका छन्। वातावरणविद् भूषण तुलाधर पनि २० वर्ष पुराना सवारी साधन हटाउने निर्णयले नयाँ चालकलाई विद्युतीय टेम्पो चलाउन निरुत्साहित गर्ने बताउँछन्।
सरकारको यस्तो निर्णयले सन् २०२० सम्ममा विद्युतीय साधन २० प्रतिशतले बढाउने सरकारको लक्ष्य पूरा हुनेमा शंका उत्पन्न भएको छ।