'वुमन्स् सेल्टर' हरुको विश्व सम्मेलनमा नेपाल पनि सहभागी
महिलाहरुको सुरक्षित आवास गृह (वुमन्स् सेल्टर) हरुको चौथो विश्व सम्मेलन ताइवानमा शुरु भएको छ । मंगलबार शुरु भएको सम्मेलन वुमन्स् सेल्टरहरुको विश्वव्यापी नेटवर्क र ताइवानको स्वास्थ्य मन्त्रालयको संयुक्त आयोजनामा भएको हो ।
सम्मेलनमा सेल्टर संचालनका चुनौति तथा राम्रा सेल्टरहरुको अभ्यास आदानप्रदान लगायतका विषयमा छलफल हुने नेपालबाट सहभागी महिला आधारशिला नेपालकी अध्यक्ष रेणु शर्माले जानकारी दिइन् ।
सम्मेलनमा नेपालबाट राष्ट्रिय महिला आयोगका सचिव दीपेन्द्र काफ्लेसहित सरकारी तथा सेल्टर संचालक गैरसरकारी संस्थाका प्रतिनिधिहरु सहभागी भएका छन् ।
सम्मेलनमा १२० राष्ट्रबाट करिब एकहजार पाँचसय जना प्रतिनिधिको सहभागिता रहेको मंगलबार शुरु भएको सम्मेलन शुक्रबार सकिनेछ ।
विश्वभरि नै महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्न आवश्यक छ । जो पीडित/प्रभावित भइसकेका छन्, उनीहरुलाई सुरक्षित राख्नु पनि त्यत्तिकै चुनौति रहेका भन्दै यसै विषयमा नेटवर्कले काम गरिरहेको छ ।
नेटवर्कका अनुसार कतिपय देशमा आश्रयस्थल स्थापना गर्नै कठिन छ, त्यहाँ झन् हिंसा पीडितहरु थप पीडामा परिरहेकाले सुरक्षित आश्रयस्थलको आवश्यकताको बारेमा पनि नेटवर्कले विश्व व्यापी आवाज उठाउँदै आएको छ ।
महिला हिंसाको तथ्यांक
महिला हिंसा सम्बन्धी विश्वव्यापी तथ्यांक अनुसार विश्वमा हरेक ३ मा एक महिला आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसाको शिकार हुने गरेका छन् ।
३५ प्रतिशत महिलाहरुले शारीरिक वा यौन हिंसा आफ्नै पार्टनर वा नजिकका साथीबाट भोग्ने गरेका छन् । नेपालमा पनि महिला माथि हुने घरेलु हिंसा तथा जबरजस्ती करणीका घटनाहरु बढिरहेका छन् ।
नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ मा १४,९४८ घरेलु हिंसाका घटनाको उजुरी परेको थियो भने अघिल्लो आर्थिक वर्षमा ११,६२९ थियो । त्यस्तै आब २०७५/७६ जबरजस्ती करणीका घटना २२३२ जाहेरी परेकोमा अघिल्लो आर्थिक वर्षमा १४८० थियो ।
अधिकारकर्मी शर्मा भन्छिन्, “जबरजस्ती करणी भएपछि घर र समाजमै बस्न अप्ठ्यारो हुन्छ, घरेलु हिंसा भएपछि घर छोड्नै पर्ने अवस्था हुन्छ । तर नेपालमा जति हिंसा पीडित छन्, त्यो अनुपातमा सेल्टरहरुको व्यवस्था छैन ।”