प्रधानमन्त्री शुक्रबारबाटै नियमित काममा फर्कन सक्ने
ग्राण्डी इन्टरनेशनल अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।
अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण र उपचारका क्रममा ‘हेमोडायलासिस’ मात्र गरिएको जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य राम्रो भएको बताए ।
उनले प्रधानमन्त्री शुक्रबारदेखि नै नियमित काममा फर्कन सक्ने उहाँले विश्वास दिलाए । प्रधानमन्त्रीलाई सघन उपचार कक्ष (आइसियू)मा नराखिएको अस्पतालले प्रष्ट पारेको छ ।
प्रधानमन्त्रीलाई हेमोडायलासिस गर्ने क्रममा आइसीयू कक्षको डायलासिस गर्ने कोठामा मात्र राखिएको डा पाण्डेले जानकारी दिए । “प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै प्रकारको सङ्क्रमण हुन नपाओस् भनेर सुविधा सम्पन्न कक्षमा डायलासिस गरिएको हो” उनले भने, “बाहिर आएजस्तो आइसियूमा राखिएको होइन ।”
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हेरेर थप उपचार गर्नुपर्ने वा नपर्ने बारेमा विज्ञसँगको राय सुझावका आधारमा प्रधानमन्त्रीको चिकित्सकीय टोलीले निर्णय लिने बताइएको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि बुधबार धापासिस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा भर्ना भएका थिए ।
प्रधानमन्त्री ओली स्वास्थ्यलाभ गरी बिहीबार साँझ निवास फर्किएका छन् । निवास फर्कने क्रममा प्रधानमन्त्री ओलीले अस्पताल परिसरमा रहेको सञ्चारकर्मीमाझ आफू ठिक रहेको प्रतिक्रिया दिए ।