जनताको अधिकार संस्थागत हुन नदिन केहि दल लागेका छनः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा लिपिबद्ध भएका जनताका अधिकारलाई संस्थागत हुन नदिन केही राजनीतिक दल लागिपरेको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले सो पार्टी प्रदेश नं ३ द्वारा २७ मंसिरमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जनताका अधिकारलाई संस्थागत हुन नदिन केहि दलले फैलाएको भ्रमलाई चिर्न तथा परिवर्तनका मुद्दा जोगाउनका लागि जनतामा जान नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
“अहिले विभिन्न गिरोहको सहयोगमा माओवादीविरुद्ध आन्दोलनको षड्यन्त्र हुँदैछ,” उनले भने “सङ्घीयता, गणतन्त्र, समावेशीताजस्ता मुद्दाकाविरुद्ध केही दल र नेता लागेका छन्, हिजो उनीहरुले हृदयदेखि नै परिवर्तन स्वीकारेका थिएनन्, जनयुद्धको राप र तापका कारण बाध्यतावश मानेका थिए ।”
अध्यक्ष दाहालले अहिले माओवादी आन्दोलन केही कमजोर भएको देखेर परिवर्तनका सबै उपलब्धिलाई उल्टाउन खोजिएको बताउँदै भने “जनतामा भ्रम छरेर आफू मात्रै ठीक, आफूले गरेको मात्रै राम्रो भन्ने मानसिकताका साथ केही मान्छे लागेका छन् ।”
उनले भने “परिवर्तनलाई जोगाउन पार्टीका सबै नेता तथा कार्यकर्ता जनतामा जानु आवश्यक छ ।”
आगामी वैशाखको पहिलो हप्ताभित्रै स्थानीय निकायको निर्वाचन गर्ने तयारीमा सरकार रहेकाले पार्टीलाई विजयी गराउन भरमग्दुर प्रयास गर्न पनि उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए । रासस