सहकारीमा १६ प्रतिशत भन्दा बढी ब्याज लिन नपाइने
सहकारी संस्थाहरुले १६ प्रतिशत भन्दा बढी ब्याजदरमा कर्जा लगानी गर्न नपाउने भएका छन् । सहकारी विभागले १९ साउनबाट लागू हुनेगरी सहकारी संस्थाले लिन पाउने अधिक्तम ब्याजको सीमा निर्धारण गरेको हो ।
सहकारी संस्थाले निक्षेप र कर्जाबीचको ब्याजदरको अन्तर पनि ६ प्रतिशत भन्दा बढी हुन नहुने भएको छ ।
सहकारी संस्थाले मनलाग्दो ब्याज लिने गरेको, कर्जा र निक्षेपबीच ब्याजदरको अन्तर निकै बढी भएको गुनासो बढेपछि सहकारी ऐन २०७४ को दफा ५१ को व्यवस्था अनुसार ‘सन्दर्भ ब्याजदर निर्धारण समिति’ गठन गरिएको थियो ।
गत बैशाखमा सहकारी विभागका रजिष्टार टोकराज पाण्डेको संयोजकत्वमा गठन भएको १० सदस्यीय समितिले ब्याजदरको सीमा निर्धारण गर्न सुझाव दिएको थियो ।
समितिको सिफारिस अनुसार सहकारी विभागले १६ साउनमा सहकारी संस्थामा सन्दर्भ ब्याजदर निर्धारण गरेको हो । सहकारी विभागका रजिष्ट्रार पाण्डे सन्दर्भ ब्याजदरको कार्यान्वयनले सहकारी क्षेत्रमा रहेका बिकृती नियन्त्रण हुने बताउँछन् ।
सहकारी विभागले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको सुपरिवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिका तयार गरिरहेकाले उक्त निर्देशिकाको कार्यान्वयनले सहकारी क्षेत्रलाई व्यवस्थीत बनाउने उनको भनाई छ ।