निर्वाचन आयोगले फिर्ता लियो समाचार हटाउन दिएको निर्देशन
निर्वाचन आयोगले सेतोपाटी डटकमलाई समाचार हटाउन दिएको निर्देशन फिर्ता लिएको छ।
आयोगले आइतबार सेतोपाटीलाई पत्र लेख्दै समाचार हटाउन दिएको निर्देशन आफ्नो आमसञ्चार माध्यमप्रतिको नीति र मान्यताभन्दा फरक हुने गरी प्राविधिक कारणले प्रेषित हुन गएको भन्दै निर्देशन फिर्ता लिएको जनाएको छ।
आयोगको पत्रमा उल्लेख छ‚ “आयोगको आमसञ्चार माध्यमप्रतिको नीति र मान्यताभन्दा फरक हुने गरी यहाँ प्रधानसम्पादक रहेको सञ्चारमाध्यमबाट प्रकाशित समाचारको विषयलाई लिएर प्राविधिक कारणले यहाँलाई प्रेषित हुन गएको आयोगको पत्र संख्या २०७९/८० चन. आ.स. ११४. मिति २०७९/०७/१९ को स्पष्ट गर्नेबारे विषयको पत्र यसै पत्र मार्फत फिर्ता लिइएको व्यहोरा आदेशानुसार सादर अनुरोध छ।”
सेतोपाटीले कात्तिक १८ गते ‘अग्नि खरेलका छोरा निशान अमेरिकी सेनामा, नेपाली नागरिकता कायमै’ शीर्षकको समाचार प्रकाशन गरेको थियो। उक्त समाचारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आयोगले कात्तिक १९ गते भन्दै २४ घण्टाभित्र समाचार हटाउन निर्देशन दिएको थियो। समाचारले उम्मेदवार तथा निजको एकाघरका परिवारका सदस्यको मान, प्रतिष्ठा, इज्जतमा आँच पुर्याउने देखिएकाले त्यसरी समाचार प्रकाशन गर्नु निर्वाचन आचारसंहिता विपरीत हो/होइन भनी आयोगले प्रष्टीकरण सोधेको थियो।
अग्नि खरेल नेकपा (एमाले)बाट झापा क्षेत्र नं १ को प्रतिनिधि सभा उम्मेदवार छन्।
निर्देशन फिर्ता लिइएको पत्र
समाचार हटाउन दिइएको पत्र