पूर्व सांसद मैयादेवी श्रेष्ठको निधन
पूर्व सांसद मैयादेवी श्रेष्ठको निधन भएको छ। ९५ वर्षीया श्रेष्ठको आज बिहान निधन भएको हो।
श्रेष्ठलाई श्वासप्रश्वासको समस्या थियो। उनलाई गत असोज २५ गते चितवन मेडिकल कलेजमा भर्ना गरी पाँच दिनपछि घर लगिएको थियो। पुनः स्वास्थ्य अवस्था जटिल भएपछि कात्तिक ४ गते अस्पतालमा भर्ना गरिएको थियो। पछिल्लो समय निमोनियाबाट अस्वस्थ भएकी श्रेष्ठको उपचारका क्रममा बिहान निधन भएको उनका धर्मपुत्र टंकनाथ पौडेलले जानकारी दिए। उनी अविवाहित थिइन्।
श्रेष्ठ चितवनस्थित मैयादेवी कन्या क्याम्पसकी संरक्षक हुन्। दानवीरका रूपमा परिचित श्रेष्ठले हालसम्म एक अर्ब रुपैयाँभन्दा बढी दान गरेको पौडेलले बताए।
उनको पार्थिव शरीर बिहान ९:३० बजेदेखि १०:३० बजेसम्म कांग्रेसको पार्टी कार्यालय कमलनगरमा राखिने र त्यसपछि मैयादेवी कन्या क्याम्पसमा राखेर दिउँसो १ बजे देवघाट लगिने कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए। पार्टीले शोक वक्तव्य जारी गर्दै आजका सबै कार्यक्रम स्थगन गरी शोक मनाउने जनाएको छ ।
विसं १९८५ असोज ५ गते फूलपातीका दिन तनहुँको बन्दीपुरमा श्रेष्ठ जन्मिएकी थिइन्। -रासस