सरकारको आम्दानी र खर्च दुवै सुस्त, विकासलक्षित खर्च ५ प्रतिशत मात्रै
अर्थतन्त्रमा सुस्तता आएको व्यवसायीले बताइरहँदा सरकारको आम्दानी र खर्च दुवै शिथिल रहेको देखिएको छ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार, चालू आर्थिक वर्षको पहिलो त्रैमासिक (असोज मसान्तसम्म)मा सरकारले वार्षिक बजेटको १५.५ प्रतिशत मात्रै खर्च गरेको छ।
यसमध्ये पनि विकासलक्षित पूँजीगत खर्च असाध्यै न्यून छ। ३१ असोजसम्ममा पूँजीगत खर्च वर्षभरिका लागि छुट्याइएको रकमको ५.१७ प्रतिशत मात्रै भएको छ।
सरकारले चालू आर्थिक वर्षको पहिलो तीन महीनामा जम्मा दुई खर्ब ७८ अर्ब मात्रै खर्च गरेको छ। यो वर्ष सरकारले १७ खर्ब ९३ अर्बको बजेट सार्वजनिक गरेको थियो।
विकास निर्माणलक्षित पूँजीगत खर्चको शिथिलता झन् बढेर गएको देखिन्छ। ३१ असोजसम्म १९ अर्ब ६८ करोड मात्रै पूँजीगत खर्च भएको छ। यो वर्ष कुल तीन खर्ब ८० अर्ब रकम पूँजीगत शीर्षकमा छुट्याइएको छ।
पहिलो त्रैमासिकमा सरकारको आम्दानीभन्दा खर्च धेरै छ। यो अवधिमा सरकारले दुई खर्ब आठ अर्ब मात्रै राजस्व आम्दानी गरेको छ। यो वार्षिक राजस्व आम्दानी लक्ष्यको १४.८७ प्रतिशत हो। आर्थिक क्रियाकलापमा सुस्तताका कारण राजस्व आम्दानी पनि घटेको छ। सरकारले विदेशी मुद्रा सञ्चिति जोगाउन महँगा सवारी साधन, मदिरा लगायतका विलासी वस्तुको आयात निरुत्साहनको नीति लिएकाले त्यसको असर राजस्व आम्दानीमा परेको छ।
संघीय बजेटले यो वर्ष १२ खर्ब ४० अर्ब राजस्व उठाउने लक्ष्य राखेको छ। तर, आर्थिक क्रियाकलापको सुस्तताका कारण राजस्व लक्ष्य अनुसार उठाउन चुनौतीपूर्ण रहेको देखिएको छ। अर्थनीतिका जानकारहरूले वार्षिक आय-व्ययको अनुमानित विवरण प्रस्तुत गर्दा नै उच्च राजस्व वृद्धिको हासिल नहुने आकांक्षा राखिएको भनी टिप्पणी गरेका थिए।
आम्दानीभन्दा खर्च धेरै भएपछि चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमै सरकारले आन्तरिक ऋण उठाउन शुरू गरिसकेको छ। यो वर्ष सरकारले आन्तरिक र बाह्य गरी चार खर्ब ९८ अर्ब ऋण उठाउने बजेट मार्फत घोषणा गरेको छ।
साधारण खर्च जुटाउन समेत ऋण उठाउनुपर्ने अवस्था चर्किंदै जाँदा देशको सार्वजनिक ऋण लगातार बढिरहेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, गत असार मसान्तसम्म ऋणभार रकम २० खर्ब १२ अर्ब हाराहारी पुगेको छ। यो देशको कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ४१ प्रतिशतभन्दा बढी हो। पाँच वर्षकै अवधिमा सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको अनुपातमा दोब्बरले बढेको छ।