नेपाली भूमिमा चीन विरुद्ध कुनै पनि गतिविधि गर्न दिंदैनौः प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका छन्।
जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेसका अध्यक्ष ली चान्शुसँगको सिंहदरबारमा आज भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री देउवाले नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेको जानकारी दिंदै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका हुन्।
भेटवार्तामा प्रधानमन्त्री देउवाले नेपाली भूमिमा चीन विरुद्ध कुनै पनि गतिविधि गर्न नदिइने समेत प्रतिबद्धता जनाएका छन्। यस्तै‚ उनले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा विगत लामो समयदेखि चीनले गर्दै आएको सहयोगको प्रशंसा समेत गरेका छन्।
अध्यक्ष चान्शुले नेपालको सार्भभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका सन्दर्भमा चीन गम्भीर र सचेत रहेको बताएका छन्। उनले दुई देशबीच ६ दशकभन्दा लामो समयदेखि असल छिमेकीका रुपमा मैत्रीपूर्ण सम्बन्ध स्थापित हुँदै आएको स्मरण गरेका थिए।