नागरिकता विधेयकमा सरकारले भोटको राजनीति गर्न खोज्यो: ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकमा सरकारले भोटको राजनीति गर्न खोजेको आरोप लगाएका छन्।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष ओलीले नागरिकता विधेयकमा गठबन्धनले भ्रम फैलाएको बताए। “सरकार नागरिकता विधेयक प्रतिपक्षले पास गर्न दिएन भनेर विवाद झिकेर जनतामाझ भ्रम फैलाउँदै छ,” ओलीले भने, “सरकारको नियत राम्रो छैन। चुनावको मुखमा भोटको राजनीति गर्न खोज्दै छ।”
जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनुपर्ने ओलीको भनाइ थियो। त्यहि अनुसार नागरिकता विधेयक ल्याउनुपर्ने उनले बताए। “यो विधेयक फिर्ता लेऊ, जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता पाउनेछन् भनेर विधेयक संशोधन गरे तुरुन्त पास हुनेछ,” ओलीले भने।
सरकारले नागरिकता विधेयक पास गर्न नचाहेको ओलीको आरोप छ। “सरकार नागरिकता विधेयक पास गर्न चाहँदैन,” अध्यक्ष ओलीले भने, “पास नगर्ने, रोकेर राख्ने, तनाव बढाउने, राष्ट्रिय राजनीतिलाई तनाव र द्वन्द्वतर्फ लान खोज्ने र लोकतन्त्र तर्फ हैन, भिडन्ततर्फ लाने सोच देखिन्छ।”