कोरोना घट्दै, डेंगी र हैजा बढ्दै
कोरोनाभाइरसको संक्रमण कम हुँदै गएको भए पनि डेंगी र हैजाको संक्रमण भने दिनदिनै बढ्दै गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बिहीबार तीन हजार ५५७ नमूना परीक्षण गर्दा २६९ जनामा कोरोना देखिएको छ। आज एक हजार ७३२ जनाको पीसीआर परीक्षण गर्दा १८० जनामा र एक हजार ८२५ जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार दुई पुगेको छ।
देशभर २१५ जना निको भएका छन्। यससँगै सक्रिय संक्रमितको संख्या पनि तीन हजार १५८ पुगेको छ।
कोरोना कम भए हुँदै गए पनि डेंगी भने बढ्दै गएको छ। बिहीबारसम्म सातै प्रदेशका ६६ जिल्लाका दुई हजार १७९ जनामा डेंगी देखिएको छ। जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा एक हजार २९१ जनामा डेंगी देखिएको हो।
त्यस्तै, प्रदेश १ मा १४४, मधेशमा ४८, गण्डकीमा ५२, लुम्बिनीमा ५८३, कर्णालीमा १७ र सुदूरपश्चिममा ४४ जनामा डेंगी देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। २०६१ सालमा पहिलो पटक देखिएको डेंगी पछिल्ला वर्षमा बढ्दै आएको छ।
यसै गरी काठमाडौं उपत्यकामा हैजाका बिरामी पनि बढ्दै गएका छन्। बिहीबारसम्म ७५ जनामा हैजा देखिएको छ। जसमध्ये तीन जना पाँच वर्षमुनिका बालबालिका छन्।