भारतीय सेनामा जाने नेपालीलाई ‘अग्निपथ’ लागू हुन्छः भारत
नेपालीहरूलाई पनि अग्निपथ योजना अनुसार नै आफ्नो सेनामा भर्ती गर्न लागिएको भारतले स्पष्ट पारेको छ।
भारतीय विदेश मन्त्रालयमा प्रवक्ता अरिन्दम बाग्चीले भदौ ९ गते आयोजित नियमित पत्रकार सम्मेलनमा गोर्खालीलाई पनि अग्निपथ लागू हुने बताएका हुन्।
‘
“हामीले लामो समयदेखि भारतीय सेनामा गोर्खालीलाई भर्ती गर्दै आएका छौं,” प्रवक्ता बाग्चीले भने, “गोर्खा भर्तीलाई अग्निपथ योजना अन्तर्गत नै निरन्तरता दिन चाहन्छौं।”
भारतले गत जून १४ मा सार्वजनिक गरेको अग्निपथ योजना अनुसार भारतीय सेनामा चार वर्षका लागि मात्र भर्ती गरिन्छ। भर्ती भएकामध्ये ७५ प्रतिशतलाई एकमुष्ट १० लाख ४० हजार भारु दिएर अवकाश दिइनेछ। उनीहरूले निवृत्तिभरण सुविधा पाउँदैनन्।
सुरक्षा खर्च घटाउन र धेरै जनालाई रोजगारीको अवसर दिन दाबी सहित ल्याइएको अग्निपथको भारतमा पनि चर्को विरोध भएको छ।