अल्फाबिटा कम्प्लेक्समा पनि बालेनको डोजर
काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले अल्फाबिटा कम्प्लेक्समा पनि डोजर चलाएका छन्।
अल्फाबिटा कम्प्लेक्सको अन्डरग्राउन्ड फ्लोरमा पार्किङको व्यवस्था नगरेर व्यवसाय सञ्चालन गरेको भन्दै डोजर चलाएका हुन्। त्यो ठाउँ खाली गराउन बिहीबार बिहान साहले आग्रह गरेका थिए।
तर, नक्शामा नभएको भन्दै कम्प्लेक्सका निर्देशक द्विराज शर्माले प्रतिवाद गरेका थिए। त्यसपछि अपराह्न नक्शा सहित पुगेका मेयर साहले डोजर चलाउन लगाएका हुन्।
महानगरका कर्मचारी, नगर प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोली सहित उनी अल्फाबिटा पुगेका थिए। अल्फाबिटाको ग्राउन्ड फ्लोरमा फार्मेसी रहेको संरचनामा पनि डोजर चलाइएको छ।
एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग नगर्न महानगरले सूचना जारी गरेको थियो। ३५ दिने सूचना जारी गर्दा पनि कसैले नहटाएपछि डोजर चलाउनुपरेको महानगरले जनाएको छ।