दिनभरि डोजर चलाएपछि काठमाडौंका मेयरले भने- भाडावाललाई अनधिकृत संरचनाका मालिकबाट क्षतिपूर्ति दिलाउँछौं
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले भाडावालहरूलाई अनधिकृत संरचनाका मालिकहरूबाट क्षतिपूर्ति भराउन महानगरले हदैसम्मको पहल गर्ने बताएका छन्।
महानगरले भदौ ८ गते बेसमेन्ट, सेमी बेसमेन्ट र जमीन तला स्वीकृत नक्शाबमोजिम सञ्चालन नगरेको भन्दै वडा नम्बर ३२ अन्तर्गतका संरचना भत्काएको थियो। व्यापारीहरूले भाडा बुझाइसकेको र डेकोरेशनमा भएको लगानी खेर गएको गुनासो गरेपछि मेयर साहले उनीहरूलाई अनधिकृत संरचना निर्माण गरेर भाडा उठाउनेहरूबाटै क्षतिपूर्ति भराउने आश्वासन दिएका हुन्।
"अनधिकृत संरचनाहरूका भाडावालहरूलाई पर्न गएको असुविधाप्रति हामी दु:ख व्यक्त गर्दछौं," साहले भनेका छन्, "त्यस्ता संरचनाहरू भाडामा लगाएर भाडावाललाई आर्थिक क्षति पुर्याए बापत हुन सक्ने कानूनी कारबाही खोजी गरेर अनधिकृत संरचनाका मालिकहरूबाट क्षतिपूर्ति गराउनेतर्फ महानगरले हदैसम्मको पहल गर्ने विश्वास दिलाउन चाहन्छौं।"
महानगरले अनधिकृत संरचनाहरूको अनुगमन जारी राख्ने मेयर साहको भनाइ छ।
"हामीले एक्कासि अनधिकृत संरचनाहरू भत्काउन शुरू गरेका होइनौं, ३५ दिने सूचना जारी गरेका थियौं। तर, सो अवधिमा कुनै पनि किसिमका छलफल, सरसल्लाहमा लागि कोही पनि सम्पर्कमा नआउनुभएको तीतो अनुभव हामीसँग छ," उनले भनेका छन्, "यसैले हामी अनुरोध गर्दछौं कि अनधिकृत संरचनाहरू नबनाइयून्, बनाएका अनधिकृत संरचनाहरु आफैंले भत्काउनुहोस् । यसका साथै त्यस्ता संरचनाहरू भाडामा लगाउने नगरियोस्।"
महानगरले भदौ ६ गते अनधिकृत रूपमा निर्मित संरचना भत्काउन शुरू गरेको हो।