दैनिक तीन सय गाडीले बन्चरेडाँडा लग्दै फोहोर
काठमाडौं उपत्यकाको फोहोर दैनिक तीन सय वटा गाडीमा ल्यान्डफिल साइट बन्चरेडाँडा लग्न थालिएकाले केही दिनभित्रै उठाइसकिने काठमाडौं महानगरपालिकाले जनाएको छ।
टेकु ट्रान्सफर्मर स्टेशनमा रहेको बाहेक सडकमा जथाभावी थुपारिएको सबै फोहोर व्यवस्थापनको काम यही साताभित्र सकिने महानगरको वातारण विभाग प्रमुख सरिता राईले बताइन्। उनले भनिन्, “मुख्य सडकमा रहेको सबै फोहोरको व्यवस्थापन कार्य सकिएको छ, अब भित्री सडकमा रहेको केही फोहोर बाँकी छ। त्यसको पनि अन्तिम व्यवस्थापनको काम आगामी शनिबारसम्ममा सकिन्छ।”
यसअघिको फोहोर पनि व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकमा भन्दा बढी दैनिक तीन सय गाडी अन्तिम व्यवस्थापनका लागि बन्चरेडाँडा पुग्ने गरेको उनले बताइन्। मुख्य सडकमा नै कतै फोहोर व्यवस्थापनको काम बाँकी भए वातावरण विभागमा जानकारी दिन पनि प्रमुख राईले आग्रह गरिन्।
केही दिनअघि महानगरका मेयर बालेन्द्र साहले फोहोर व्यवस्थापन कार्यमा सहभागी निजी कम्पनीलाई पनि एक साताभित्र सबै फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका थिए। कहिले पानीको कारण बाटो अवरोध त कहिले सिसडोल बन्चरेडाँडाका स्थानीय बासिन्दाको अवरोधले दुई महीनादेखि उपत्यकाको फोहोर व्यवस्थापन हुन सकेको थिएन।
सिसडोल र बन्चरेडाँडाका स्थानीयले विगतमा महानगरसँग भएको सम्झौता अनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्था जस्ता माग पूरा नगरेको भन्दै कहिले फोहोर बोकेको गाडी तोडफोड र कहिले सडक नै अवरोध गर्ने गरेका थिए।
दुई महीनादेखि विसर्जन हुन नसकेको उपत्यकाको फोहोर व्यवस्थापनका लागि गत साता काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बन्चरेडाँडाका बासिन्दाबीच चारबुँदे सहमति भएको थियो। त्यसयता भने नियमित रूपमा फोहोर व्यवस्थापन हुँदै आएको छ।