चालू आर्थिक वर्षको पहिलो महीनामा व्यापार घाटा एक खर्ब १६ अर्ब
चालू आर्थिक वर्षको पहिलो महीना साउनमा नेपालले वैदेशिक व्यापारमा रु.एक खर्ब १६ अर्ब घाटा बेहोरेको छ।
भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, अघिल्लो वर्षको सोही अवधिका तुलनामा व्यापार घाटा १० प्रतिशतले घटेको छ। गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले रु.१७ खर्ब २० अर्ब व्यापार घाटा बेहोरेको थियो।
साउनमा नेपालले रु.एक खर्ब ३१ अर्ब २८ करोड मूल्यका सामान आयात गरेको छ। यो अवधिमा नेपालले रु.१४ अर्ब ८१ करोडको वस्तु निर्यात गरेको छ।
आयात अघिल्लो वर्षको यही अवधिका तुलनामा १२.९ प्रतिशत र निर्यात २८.७ प्रतिशतले घटेको छ। २०७८ साउनमा नेपालले रु.एक खर्ब ५० अर्ब ७३ करोडको आयात गरेको थियो।
साउनमा सबैभन्दा धेरै रु.२५ अर्ब तीन करोडको इन्धनजन्य खनिज तेल र यस सम्बन्धी सामग्री आयात भएको छ। त्यसै गरी रु.१३ अर्ब तीन करोडको फलाम र फलामजन्य सामान आयात भएको छ।
त्यस्तै, रु.२७ अर्ब ६५ करोडको कृषिजन्य वस्तु आयात भएको छ। जसमध्ये अन्नको आयात रु.तीन अर्ब ५९ करोड मूल्य बराबरको छ। साउनमा रु.दुई अर्ब ४६ करोडको तरकारी, रु.एक अर्ब ९० करोडको फलफूल आयात भएको छ।