प्रतिनिधि सभा बैठकमा सांसद गिरिको शोक प्रस्ताव पेश हुने
प्रतिनिधि सभाको आजको बैठकमा नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पेश हुने भएको छ।
सोमबार दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। शोक प्रस्तावपछि बैठक स्थगित हुने प्रचलन छ।
२००४ असोज २४ गते सिरहाको बस्तीपुरमा जन्मिएका गिरिको भदौ ४ गते राति साढे ९ बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो। उनी घाँटीको क्यान्सरबाट पीडित थिए। गिरिको भदौ ५ गते पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको थियो।
गिरि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट कांग्रेसबाट निर्वाचित भएका थिए। यसअघि कांग्रेसबाट २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा क्षेत्र ५ बाट निर्वाचित भएका थिए। २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा भने समानुपातिक सदस्यमा निर्वाचित सदस्य भएका थिए।