सलमान रुश्दीको स्वास्थ्य सुधार‚ भेन्टिलेटरबाट निकालियो
छुरा प्रहारबाट घाइते भएका चर्चित लेखक सलमान रुश्दीको स्वास्थ्यमा सुधार भएको छ। उनलाई भेन्टिलेटर बाहिर निकालिएको छ।
बीबीसीका अनुसार‚ उनलाई शनिबार भेन्टिलेटर बाहिर निकालिएको हो। उनी अहिले बोल्न सक्छन्।
गत शुक्रबार अमेरिकाको न्यूयोर्कमा आयोजित एक कार्यक्रममा ७५ वर्षीय रुश्दीलाई हादी मतारले छुरा प्रहार गरेका थिए। २४ वर्षीय मतारले योजनाबद्ध तरिकाले नै आक्रमण गरेको प्रहरीले बताएका छ।
रुस्दीलाई घाँटी र पेटमा छुरा प्रहार गरिएको थियो। हमला लगत्तै उनलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको थियो।
सन् १९८९ मा ‘द सटानिक भर्सेस’ पुस्तक प्रकाशित भएको ६ महीनापछि नै इस्लामिक अतिवादीहरूबाट हत्याको धम्की आएको थियो। त्यसयता उनले लगातार धम्की खेपिरहेका छन्।
इरानका सर्वोच्च नेता आयातोल्लाह रुहाल्लाह खामेनेईले सन् १९८९ मा रुश्दीको हत्या गर्न फतवा जारी गरेका थिए। त्यसपछि रुश्दी अर्धभूमिगत भएका थिए। तर‚ आफ्नो जीवन बाँचिसकेको भन्दै केही समयदेखि उनी खुला रुपमा हिंड्डुल गर्न थालेका थिए। उनी न्यूयोर्कमा सुरक्षा विना नै सार्वजनिक स्थलमा जाने गरेका थिए।
गत शुक्रबार न्यूयोर्कमा अमेरिका आफू जस्ता निर्वासित लेखकहरूका लागि सुरिक्षत ठाउँ र वाक स्वतन्त्रता भएको विषयमा रुश्दीले भाषण गर्दै थिए। तर‚ सोही ठाउँ उनका लागि असुरक्षित हुन पुग्यो। यही घटनालाई लिएर विश्वभरका साहित्यकारहरूले कुनै पनि ठाउँमा वाक स्वतन्त्रता नभएको बताइरहेका छन्।