अहिलेकै अवस्थामा निजगढको एक रूख पनि काट्न दिन्नँ: वनमन्त्री यादव

वन तथा वातावरणमन्त्री प्रदीप यादवले बाराको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि अहिलेकै अवस्थामा एक रूख पनि काट्न नदिने बताएका छन्।
बुधबार सामुदायिक वन दिवस, २०७९ का अवसरमा आयोजित राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चित भएपछि मात्रै रूख काट्ने अनुमति दिइने बताए। व्यक्तिगत रूपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पक्षधर भए पनि पहिले बजेट सुनिश्चितता हुनुपर्ने उनको भनाइ छ।
“विमानस्थल निर्माणका नाममा वन विनास गर्न दिइनेछैन, सम्मानित अदालतलाई म धन्यवाद दिन चाहन्छु,” मन्त्री यादवले भने, “रूख कटान गर्ने, विभिन्न नाटक गरेर पैसा खाइदिने, तर विमानस्थल निर्माणका लागि बजेट सुनिश्चितता नहुने षड्यन्त्र हुन दिन्नँ।”
यस विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले वन विनाश नहुने गरी अन्तर्राष्ट्रिय विमानस्थल बनाउने परमादेश दिएको थियो। सर्वोच्चको आदेशमा सकभर निजगढको विकल्प खोज्नुपर्ने उल्लेख छ।
मन्त्री यादवले सामुदायिक वनका क्रियाकलापले नेपालको वनजङ्गल क्षेत्रमा उल्लेख्य वृद्धि हुनाका साथै वनको विकासमा ठूलो योगदान पुगेको बताए। उनले वन कर्मचारी, विभिन्न सामुदायिक वन तथा समुदायमा आधारित साझेदारी वन, कबुलियती वन, निजी वनहरूले गरेका राम्रा कामका कारण अहिले वन तथा वातावरण मन्त्रालय गालीको ठाउँमा ताली खाने मन्त्रालय भएको बताए।