काठमाडौंका सडकमा फेरि थुप्रिन थाल्यो फोहोर
काठमाडौं महानगरपालिकाका सडकमा फेरि फोहोर थुप्रिन थालेको छ। बाटो मर्मतका कारण फोहोर सङ्कलन नहुँदा सडकमै थुप्रिन थालेको हो।
सिसडोलबाट बन्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साविक बमोजिम फोहोर व्यवस्थापन हुन नसकेको काठमाडौं महानगरले जनाएको छ। मुख्य गरी अनामनगर, कलंकी, कालीमाटी, बल्खु लगायत स्थानमा फोहोर थुप्रिन थालेको छ।
यही असार ४ गते काठमाडौं महानगरले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक साताका लागि घर बाहिर फोहोर ननिकाल्न आग्रह गरेको थियो। एक साताको समयमा पनि सडक मर्मतको काम पूरा नभएपछि सबै सवारी साधन चलाउन कठिन भएकाले फोहोर व्यवस्थापनमा समस्या भएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए।
बाटो मर्मतको काम सम्पन्न गर्न अझै समय लाग्ने भएकाले केही दिन सबै स्थानको फोहोर व्यवस्थापन गर्न कठिन हुने प्रवक्ता मानन्धरको भनाइ छ।
त्यसै गरी बन्चरेडाँडाका स्थानीयले सम्झौता अनुसार काम नभएको भन्दै आगामी भदौ १ गतेदेखि फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन्। समयमा नै सडक मर्मतको काम नगरेको, फोहोर बोक्ने गाडीमा (लिचड ट्याङ्की) फोहोरको लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्थानीयको स्वास्थ्य बीमा, शिक्षाको ग्यारेन्टी जस्ता विषयबारे बेवास्ता गरिएको भन्दै स्थानीयले फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका हुन्।
महानगरले बन्चरेडाँडाका स्थानीयको माग सम्बोधनको चरणमा रहेको जनाउँदै उपत्यकाको कुहिने फोहोर यहीं व्यवस्थापन गर्न स्थान पहिचानको काम गरिरहेको जनाएको छ। त्यसका लागि उपत्यकाका अन्य नगरपालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको बताइएको छ।
यसअघि हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन गरिंदै आएको थियो। सबैभन्दा बढी काठमाडौं महानगरबाट पाँच सय मेट्रिक टन फोहोर निस्कने गर्छ। उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करीब ७५ प्रतिशत बन्चरेडाँडामा व्यवस्थापन गरिंदै आएको थियो। (रासस)