नेपाल समाजवादी पार्टी बाबुराम भट्टराईको भइसकेको छैन: आयोग
निर्वाचन आयोगले नेपाल समाजवादी पार्टी (नेसपा)मा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई आबद्ध नरहेको जनाएको छ।
समावेशी लोकतान्त्रिक पार्टी (सलोपा)को नाम परिवर्तन भएर नेसपा भएको तर त्यसमा भट्टराईको नाम उल्लेख नभएको एक निर्वाचन आयुक्तले जानकारी दिए। नाम उल्लेख गर्न नचाहने ती आयुक्तले हिमालखबरसँग भने, “हाम्रो अभिलेख अनुसार बाबुरामजी जनता समाजवादी पार्टीमै हुनुहुन्छ, उहाँले बाहिर बाहिर के प्रचार गरिरहनुभएको छ, हामीलाई थाहा हुने कुरा भएन।”
जनता समाजवादी पार्टीमा विवाद चर्किंदै गर्दा २०७८ फागुन ५ गते भट्टराई पक्षकै दीपक लामिछानेले सलोपा दर्ता गराएका थिए। यो पार्टीले खुलेको एक आँखा चुनाव चिह्न पाएको थियो।
खुलेको एक आँखा भट्टराईको पहिलाको पार्टी नयाँ शक्तिको चुनाव चिह्न थियो।