पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन प्रतिवेदन तयार
पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको संसदीय विशेष छानबिन समितिले प्रतिवेदन तयार गरेको छ।
बिहीबार साँझसम्म समितिको अन्तिम बैठकले छानबिन प्रतिवेदन टुङ्गो लगाएको समितिका सदस्य-सचिव सुरेन्द्र अर्यालले बताए। समितिको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सदस्य-सचिव अर्यालले भने, “संसदीय विशेष छानबिन समितिको अन्तिम बैठक आज बसेको छ। दिनभर छलफल गरेर प्रतिवेदन तयार भएको छ।”
सामान्य प्राविधिक कुरा बाहेक सबै विषय टुङ्गिएको उनले बताए। प्राविधिक विषय छानबिन समितिको सचिवालयले मिलाउने उनको भनाइ छ।
चालू आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै विरोध भएपछि प्रतिनिधि सभाले विशेष छानबिन समिति गठन गरेको थियो। समिति गठनसँगै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।
असार २८ गते गठन भएको समितिलाई छानबिनका लागि १० दिनको समय दिइएको थियो। निर्धारित समयमा छानबिन सम्पन्न नभएपछि सात दिन म्याद थपिएको थियो। थपिएको म्याद आज सकिएको छ।
समितिले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने भएको छ। “भोलि सभामुखलाई प्रतिवेदन बुझाउँछौं, समय टुङ्गो लगाउन बाँकी छ,” सदस्य-सचिव अर्यालले भने।
यसअघि प्रतिवेदनको निष्कर्षका विषयमा विवाद देखिएको थियो। सत्तापक्षका सांसद एकातिर नेकपा (एमाले)का सांसद अर्कातिर देखिएका थिए।
संसदीय विशेष छानबिन समितिको प्रतिवेदन टुङ्गिए पनि सर्वसम्मत भयो कि बहुमतका आधारमा तयार भयो भन्ने खुलेको छैन। “भोलि प्रतिवेदन हेरेपछि थाहा हुन्छ, अहिले केही भन्न मिल्दैन,” बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमाले सांसद खगराज अधिकारीले भने।
नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले पनि अहिले केही भन्न नमिल्ने बताए। प्रतिवेदन तयार भएको तर सबै कुरा भन्न नमिल्ने उनको भनाइ थियो।