‘परिवार र राज्यका निकायले मुठ्ठी कस्नुपर्ने वेला भो’
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई श्रीलंका बन्न नदिन हरेक नागरिक, परिवार र राज्यका निकायहरूले मुठ्ठी कस्नुपर्ने वेला आएको बताएकी छन्।
अर्थतन्त्रमा देखिएका चुनौतीलाई कम गर्न तत्काल दुई उपाय अवलम्बन गर्नुपर्ने राष्ट्रपति भण्डारीको सुझाव छ। फजुल खर्च नियन्त्रण, मितव्ययिता अवलम्बन, अर्थव्यवस्थालाई स्वावलम्बी र आत्मनिर्भर बनाउनुपर्नेमा उनको जोड छ।
रूस–युक्रेन युद्धको आर्थिक असर समेत नेपाल देखिन थालेका वेला साउन १० गते महाराजगञ्जस्थित राष्ट्रपति भवनमा सम्पादकहरूसँगको अन्तरक्रियामा उनले भनिन्, “अहिले सबैले मुठ्ठी कस्नुपर्ने समय छ। हरेक नागरिक, परिवारदेखि राज्यका निकायहरूलाई खर्च सकेसम्म नियन्त्रण गर्न मेरो आग्रह छ।”
नेपाललाई श्रीलंकाको बाटोमा जान नदिन आर्थिक अनुशासनलाई अझ कठोरतापूर्वक पालना गर्नुपर्ने उनको भनाइ छ। मुलुकको कुल बजेटको आकारभन्दा बढी आयात गर्नुलाई सानो चुनौतीका रूपमा लिन नहुने भण्डारीको निष्कर्ष छ।
चार पृष्ठको लिखित मन्तव्य राखेपछि सञ्चारकर्मीसँग अन्तरक्रिया गरेकी राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको विषयमा आफूले अध्ययन गरिरहेको धारणा राखिन्।
विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षाको गुणस्तर, सामाजिक दायित्व, शिक्षण सिकाइको प्रभावकारिता लगायत विषयमा सुधारात्मक उपाय पहिल्याउनुपर्नेमा उनको जोड थियो। पानीको मुहान सुक्दै गएको, हिमालमा हिउँको मात्रा घट्दै गएको, वर्षात्को प्रवृत्ति बदलिएको र कार्बन उत्सर्जन र जलवायु परिवर्तनको मारमा परेकोप्रति भण्डारीले दुःख व्यक्त गरिन्।