पाँच करोड घूस लिएको आरोपमा जवाफ दिन डा. चौरासियालाई निर्देशन
स्वास्थ्य सेवा विभाग व्यावस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरासियालाई आर्थिक अनियमितताको आरोपमा सम्बन्धित मन्त्रालयले जवाफ मागेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्रले मन्त्रालयमा उपस्थित भई आरोपबारे जवाफ दिन निर्देशन दिएका हुन्। राज्यमन्त्री केसीका निजी सचिव वीर सिंह राईले लेखेको पत्रमा चौरासियाले १० अर्बको औषधि उपकरणहरू खरीदमा अनियमितता गरेको, ५० लाख रुपैयाँको लेनदेनमा सरुवा गरेको, पाँच करोडभन्दा माथि घूस लिएको, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेजलाई ८० प्रतिशत ठेक्का अनियमित तरीकाले दिएको र ०.५ प्रतिशत कमिशन लिएको आरोप छ।
उक्त आरोपबारे वास्तविकता बताउन चौरासियालाई मन्त्रालय बोलाइएको छ। चौरासियालाई पठाइएको पत्रमा उल्लेख छ‚ “यस सम्बन्धमा भएको के हो? वास्तविकता के हो? सोबारे आज मिति २०७९/४/१० गते बेलुका ५ (पाँच) बजेभित्रमा राज्यमन्त्रीज्यू समक्ष उपस्थित भई जवाफ दिनुहुन आदेश अनुसार जानकारी गराइन्छ।”