कूटनीतिक पहल गरेर अक्सिजेनेटर ल्याउन संसदीय समितिको सुझाव
मुटुको शल्यक्रियाका लागि अत्यावश्यक अक्सिजेनेटर मशिन कूटनीतिक पहल गरेर ल्याउन संसदीय समितिले सरकारलाई सुझाव दिएको छ।
संसद्को शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकले मुटुको शल्यक्रियाका लागि अत्यावश्यक उक्त मशिन तत्काल नेपाल ल्याउन आवश्यक पर्ने कानूनी सहजीकरणका लागि पनि सरकारलाई सुझाव दिएको हो। समितिकी सभापति जयपुरी घर्तीले मुटुका बिरामीको शल्यक्रिया सेवा छिटो उपलब्ध गराउन कूटनीतिक पहलदेखि कानूनी बाधा अड्चन फुकाएर भए पनि अक्सिजेनेटर मशिन ल्याउन सुझाव दिइन्।
समितिमा भएको छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले कूटनीतिक पहल गरेर अमेरिका र जापानबाट उक्त मशिन ल्याउन सकिने विकल्पका विषयमा जानकारी दिएकी थिइन्। अक्सिजेनेटर मशिन अहिले विश्वबजारमा अभाव भइरहेको उल्लेख गर्दै यसका लागि छिटोभन्दा छिटो कूटनीतिक पहल गर्न आवश्यक रहेको उनको भनाइ थियो।
स्वास्थ्य सचिव डा. रोशन पोखरेलले अक्सिजेनेटर ल्याउन अस्पताल तथा सरकारलाई सबै किसिमको सहयोग गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको बताए। अक्सिजेनेटर ल्याउन केही अन्तर्राष्ट्रिय संस्थासँग पनि छलफल भइरहको उनको भनाइ थियो।
गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले अक्सिजेनेटर अभाव भएकाले शल्यक्रियाको काम स्थगित गर्नुपरेको बताए। देशमा लगभग दुई हजार पाँच सय हाराहारीमा ओपन हर्ट सर्जरी हुने र त्यसमध्ये एक हजार आठ सयदेखि एक हजार नौ सयसम्म सर्जरी गंगालालमा हुने भएकाले त्यहाँ अक्सिजेनेटर अभाव भएको उनको भनाइ थियो।
विश्वका तीन वटा कम्पनीले मात्र उत्पादन गर्ने गरेको अक्सिजेनेटर युक्रेन र रुसको युद्धले पनि अभाव भएको डा. अधिकारीको भनाइ छ। अक्सिजेनेटर नेपालमा दुई वटा कम्पनीले मात्र आयात गर्छन्। “अक्सिजेनेटरको कच्चा पदार्थ चीनमा मात्र बन्दो रहेछ, कोरोना महामारीको कारण त्यहाँ उत्पादन नभएकाले अहिले बजारमा अभाव भएको हो,” डा.अधिकारीले भने।
निर्देशक अधिकारीले मेडिकल उपकरण र औषधि खरीदमा ठेक्काको म्याद ४५ दिन राख्नुपर्ने नियम भएकाले सहज रूपमा खरीद प्रकिया अघि बढाउन गाह्रो भएको बताए।
केही समयपछि सार्न मिल्ने (इलेक्टिभ) सर्जरी गर्ने केसलाई पछि सारे पनि आकस्मिक अपरेशन गर्न गंगालालसँग केही थान अक्सिजेनेटर उपलब्ध रहेको उनको भनाइ थियो। “अहिले बालबालिकाको सर्जरी गर्न पर्याप्त अक्सिजेनेटर छ, वयस्कको सर्जरी गर्न आवश्यक अक्सिजेनेटर विश्वमै अभाव छ, हामीले चाहेर मात्र केही गर्न सकिन्न,” डा. अधिकारीले भने।