भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू विजयी
भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छन्। कुल मतको ६४.०३ प्रतिशत मत प्राप्त गर्दै उनी विजयी भएकी हुन्।
सत्तारूढ दल भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनबाट उम्मेदवार बनेकी ६४ वर्षीया मुर्मू भारतको १५औं राष्ट्रपति भएकी हुन्। उनी आदिवासी समुदायबाट पहिलो र महिलाबाट राष्ट्रपति बन्ने दोस्रो व्यक्ति हुन्।
मुर्मूले विपक्षी दलका यशवन्त सिन्हालाई ठूलो मतान्तरले पराजित गरेकी हुन्। उनले जुलाई २५ मा राष्ट्रपति पदको शपथ लिनेछिन्। उडिसा राज्यमा जन्मिएकी उनी सन्थाल समुदायकी हुन्। यसअघि उनी झारखण्डकी राज्यपाल थिइन्।
मुर्मू निर्वाचित भएपछि नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले हार्दिक बधाई तथा शुभकामना दिएकी छन्। उनले मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने पूर्ण विश्वास व्यक्त गरेकी छन्।
यस्तै‚ प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बधाई तथा शुभकामना दिएका छन्। देउवाले नवनिर्वाचित राष्ट्रपति मुर्मूको कार्यकालमा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिने विश्वास व्यक्त गरेका छन्।