काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन आजदेखि रोकियो
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन आजदेखि रोकिएको छ। बाटो मर्मत गर्नुपर्ने भएकाले एक साता उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन रोकिएको हो।
फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहोर व्यवस्थापन स्थल बन्चरेडाँडासम्म जाने करीब दुई किलोमिटर बाटो मर्मत भइरहेको छ। फोहोर बोकेको गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आउनले भएकाले सहरी विकास मन्त्रालयले केही दिन गाडी नपठाउन काठमाडौं महानगरपालिकालाई आग्रह गरेकाले फोहोर व्यवस्थापन रोकिएको महानगरका वातावरण विभाग प्रमुख सरिता राईले बताइन्।
महानगरले बुधबार सूचना जारी गर्दै आआफ्नो घर‚ पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिक स्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपील गरेको छ।
बाटो मर्मत भइरहेकाले यसअघि पनि बिहान ४ देखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहरको गाडी व्यवस्थापन स्थलसम्म जाने गरेका थिए। उपत्यकाबाट प्रत्येक दिन एक हजार २०० मेट्रिकटन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। यसमध्ये सबैभन्दा बढी काठमाडौं महानगरको ५०० मेट्रिक टन फोहर निस्किने गर्दछ।