मेरो भारत भ्रमण पूर्वनिर्धारित हो‚ चिनियाँ नेताको भ्रमणसँग सम्बन्ध छैनः दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण पूर्वनिर्धारित भएको बताएका छन्।
भारत भ्रमणमा जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले भारत भ्रमणको टुङ्गो दुई महीनाअघि नै भएको प्रष्टीकरण दिएका थिए।
“यो भ्रमण बाहिर आउँदा आकस्मिक जस्तो देखियो, तर मेरो र हाम्रो पार्टीका लागि यो आकस्मिक होइन,” दाहालले प्रष्ट्याउँदै भने, “एक-दुई महीना अगाडिबाट हो। त्यति वेला यहाँ राजदूत विनय क्वात्रा हुनुहुन्थ्यो।”
अध्यक्ष दाहालले आफू भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको औपचारिक निमन्त्रणामा भ्रमणमा जान लागेको बताए। उनले भने, “उहाँ (क्वात्रा) विदेश सचिव भएर गएपछि मलाई सम्पर्क गरेर तपाईंका लागि उपयुक्त समय कुन हुन सक्छ भनी सोध्नुभएको थियो। मैले जुलाई दोस्रो वा तेस्रो हप्ता भनेको थिएँ। त्यही अनुसार अहिले भारतीय जनता पार्टीका प्रेसिडेन्ट जेपी नड्डाको औपचारिक निमन्त्रणामा भ्रमण हुँदै छ।”
अध्यक्ष दाहालले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली नेपाल आएर फर्किए लगत्तै आफ्नो भारत भ्रमण हुनु संयोग मात्र भएको दाबी गरेका छन्। उनले भने, “जति वेला मेरो भारतीय विदेश सचिवसँग कुरा हुँदै थियो, त्यति वेला चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख नेपाल भ्रमणमा आउने कुरा थाहा थिएन। त्यस कारण चिनियाँ कम्युनिष्ट पार्टीका नेता आउने र मेरो भारत जाने कुरामा कुनै सम्बन्ध छैन।”
यस्तै, दाहालले चिनियाँ नेता लिउले पनि आफूलाई चीन भ्रमणका लागि बोलाएको बताएका छन्। “भेटमा पनि उहाँ (लिउ जियानचाओ) ले कोभिड अन्त्यतिर जाँदै छ‚ तपाईं छिट्टै चीन भ्रमणमा आउनुपर्छ भन्नुभएको छ। मैले चीन भ्रमणमा आउँछु पनि भनेको छु,” उनले भने।
अध्यक्ष दाहालले आफ्नो भारत भ्रमण सद्भावना भ्रमण रहेका बताएका छन्। भ्रमणमा नेपाल राष्ट्र र नेपाली जनताको हितलाई केन्द्रबिन्दुमा राखेर नेपाल–भारत बीचको विविध पक्षहरूमा चर्चा हुने उनले बताए।
उनले भने, “नेपालको समग्र विकासका निम्ति द्वीपक्षीय स्थितिलाई सुदृढ गर्ने हिसाबले, व्यापारको सन्तुलनलाई कायम गर्ने दृष्टिमा‚ इतिहासबाट कतिपय थाँती रहेका विषयलाई कूटनीतिक र संवादका माध्यमबाट टुङ्ग्याउने सिमानाका कुरालाई पनि कूटनीतिक माध्यमबाट विश्वासको वातावरण बनाएर टुङ्ग्याउने कुरा लगायत सबै विषयमा पक्कै पनि चर्चा हुन्छ।” भ्रमणमा भारतीय राजनीतिक दलका नेताहरू तथा प्रधानमन्त्रीसँग भेट हुने दाहालले बताए।