ब्यांकबाट व्यवसाय गर्न लिएको ऋणले जग्गा खरीद, राष्ट्र ब्यांकमाथि महालेखाको प्रश्न
व्यवसाय गर्न भनेर ब्यांकबाट लिएको ऋण जग्गा किन्न दुरुपयोग भएको भेटिएको छ।
महालेखा परीक्षक कार्यालयको ५९औं प्रतिवेदनले आन्तरिक राजस्व कार्यालय महाराजगञ्जअन्तर्गतका एक व्यवसायीले व्यवसाय गर्न भनेर लिएको कर्जा जग्गा किन्न दुरुपयोग गरेको उल्लेख गरेको छ। राजश्व कार्यालयअन्तर्गतका एक करदाताले ब्यांकबाट ऋण लिई रु. ५७ करोड ५९ लाखको जग्गा किनेको प्रतिवेदनमा औंल्याइएको छ।
“करदाताले ब्यांकबाट लिएको ऋण व्यवसायिक कार्यमा उपयोग नगरी जग्गा खरीदमा प्रयोग गरेकाले ब्याज खर्च रु. २ करोड ६५ लाख ८९ हजार अमान्य गरी नोक्सानी समायोजन गर्न छानबिन हुनुपर्छ,” प्रतिवेदनमा भनिएको छ।
ब्यांकिङ कसुर तथा सजाय ऐन, २०६४ ले इजाजत प्राप्त ब्यांक तथा वित्तीय संस्थाबाट जुन प्रयोजनको लागि कर्जा सुविधा लिएको हो सोही प्रयोजनमा नलगाई अन्यत्र प्रयोग गरी वा गराई कर्जाको दुरुपयोग गर्न वा गराउन नहुने व्यवस्था गरेको छ। कर्जा दुरुपयोग गरेको भेटिएमा केन्द्रीय ब्यांकले कारबाही चलाउन सक्छ।
तर, महालेखाले केन्द्रीय ब्यांकको सुपरीवेक्षणमाथि पनि प्रश्न उठाएको छ। राष्ट्र ब्यांकको कमजोर सुपरिवेक्षणका कारण ब्यांक तथा वित्तीय संस्थाका सञ्चालकहरूले नै कर्जाको दुरुपयोग गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा भनिएको छ, “इजाजत प्राप्त ब्यांक तथा वित्तीय संस्थाबाट कर्जा लिने विभिन्न उद्योग, व्यवसायीहरूले जुन प्रयोजनका लागि कर्जा लिएको हो। सोही प्रयोजनमा उपयोग गर्नुपर्छ। विभिन्न कर्जा लिने त्यस्ता व्यवसायीले ब्यांक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तोकिएको प्रयोजनमा प्रयोग नगरि संचालक तथा सम्वद्ध पक्षलाई सापटी दिने लगायतका कार्यमा प्रयोग गरेको देखिन्छ।”