राष्ट्रिय सभाबाट तेजाब तथा घातक रासायनिक पदार्थ नियमन सम्बन्धी विधेयक पारित
राष्ट्रिय सभाबाट तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ पारित भएको छ।
गृहमन्त्री बालकृष्ण खाँणले मंगलबारको राष्ट्रिय सभा बैठकमा उक्त विधेयक पारित गरियो्स् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। विधेयक सर्वसम्मत पारित भएको हो।
प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिंदै गृहमन्त्री खाँणले तेजाब तथा घातक रासायनिक पदार्थ औद्योगिक तथा स्वास्थ्य क्षेत्रमा अत्यावश्यक रहे पनि यसको दुरुपयोगले समस्या ल्याएकाले तेजाब तथा घातक रासायनिक पदार्थ नियमन गर्न कानून ल्याइएको प्रष्टीकरण दिए।
उनले तेजाब र घातक रासायनिक पदार्थको उत्पादन, आयात, निर्यात, भण्डारण, बिक्री वितरण र उपयोगलाई नियमन तथा व्यवस्थापन गर्न विधेयक प्रस्ताव गरिएको बताए। यस्तै‚ विधेयक पारित भएसँगै तेजाब तथा घातक पदार्थको दुरुपयोग नियन्त्रण हुने तथा यसको दुरुपयोग गर्नेलाई आवश्यक कारबाही हुने गृहमन्त्री खाँणको भनाइ छ। -रासस