स्वतन्त्र अभियानको रवि लामिछानेलाई प्रश्न- भोटको ढडिया थापेर तर मार्न खोजेको हो?
भर्खरै निर्वाचन आयोगमा दल दर्ता गरेका पूर्व सञ्चारकर्मी रवि लामिछानेप्रति स्वतन्त्र उम्मेदवारी अभियान आक्रमक देखिएको छ।
शनिबार ललितपुरको सानेपामा आयोजित भेलामा अभियानका संयोजक डम्बर साहुद्वारा प्रस्तुत ‘राजनीतिक शुद्धीकरणः मिसन १६५’ नामक अवधारणा पत्रमा लामिछानेको नामै उल्लेख गरेर आलोचना गरिएको छ।
“किन व्यक्तिपिच्छे पार्टी खोलिंदै छ? यही क्रममा रवि लामिछानेले हतार-हतार पार्टी खोल्नुको आशय के हो?” अवधारणा पत्रमा भनिएको छ, “स्थानीय चुनावमा स्वतन्त्रको पक्षमा लहर आएको देखेर समानुपातिक भोटको ढडिया थापेर त्यसैमा तर मार्ने उद्देश्यले स्वतन्त्रको नाम बदनाम हुने गरी हतारमा पार्टी खोलिएको त होइन?”
लामिछानेको पार्टी विरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका संयोजक साहुले राष्ट्रिय स्वतन्त्र पार्टीका कारण स्वतन्त्र मतदाताहरू भ्रममा पर्ने दाबी गरेका छन्।
पर्याप्त छलफल नगरी हतारमा पार्टी खोल्ने होडबाजीले वैकल्पिक राजनीतिक शक्तिलाई एकीकृत बनाएर लैजान नसक्ने उनको भनाइ छ। उनले भनेका छन्, “बरु यसले आआफ्नो चुलोचौकोमा रम्ने पुरानै विकृत राजनीतिक परम्परालाई प्रश्रय दिन्छ।”