‘अमेरिकालाई एसपीपीमा सहभागी नहुने पत्र पठाइसक्यौं’
नेपाल ‘स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)’ मा आबद्ध नहुने भनेर अमेरिकालाई पत्र पठाएको सरकारले जनाएको छ।
रक्षामन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट सोमबार राष्ट्रिय सभामा रक्षा मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमा उठेका प्रश्नको जवाफ दिंदै गृहमन्त्री बालकृष्ण खाँणले परराष्ट्र मन्त्रालय मार्फत अमेरिकालाई पत्र पठाइसकेको बताएका हुन्। मन्त्रिपरिषद्ले एसपीपीमा आबद्ध नहुने निर्णय गरेको थियो। त्यही अनुसार अमेरिकालाई जानकारी गराइएको गृहमन्त्री खाँणले बताए।
“अमेरिकी र नेपाली सेनाबीच सहयोग आदानप्रदानको सन्दर्भमा स्टेट पार्टनरशिप प्रोग्राम हुन्छ कि भन्ने देशभरि एउटा चर्चाको प्रसङ्ग थियो र सदनमा पनि गम्भीरतापूर्वक छलफल र बहसमा आएको थियो,” खाँणले भने, “त्यसपछि मन्त्रिपरिषद्ले नै स्टेट पार्टनरशिप प्रोग्रामलाई अगाडि बढाइनेछैन भन्ने निर्णय गर्यो। त्यो निर्णय हामीले परराष्ट्र मन्त्रालय मार्फत पठाइसकेका छौं।”
मन्त्रिपरिषद्ले यही असार ६ गते एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो। त्यही दिन अमेरिकी सरकारलाई पत्र पठाएर एसपीपीमा सहभागी नहुने जानकारी गराउने निर्णय पनि भएको थियो।
एसपीपीमा सहभागी नहुने निर्णय भए पनि सरकारले पत्र नपठाएको भन्दै सांसदले प्रश्न गरेका थिए। त्यसको जवाफमा गृहमन्त्री खाँणले पत्र पठाएको स्पष्ट पारेका हुन्।
एसपीपीबारे विषेश सामग्री: