भारतीय बजारमा बढ्यो टाटा मोटर्स गाडीको मूल्य
भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्नो गाडीको मूल्य बढाएको छ।
आवश्यक कच्चा वस्तु, सेमि-कन्डक्टर, स्टील, आल्मुनियम र अन्य धातुको मूल्य बढेकाले गाडीको मूल्य बढाइएको कम्पनीले जनाएको छ।
टाट मोटर्सले भारतीय बजारमा अप्रिल २३ देखि लागू हुने गरी मूल्य बढाएको छ। त्यसमध्ये प्यासेन्जर भेइकल (गाडी) को मूल्य मोडल र भेरियन्ट अनुसार १.१ प्रतिशतसम्म बढाएको छ। कम्पनीले गत जनवरीमा पनि मूल्य ०.९ प्रतिशतसम्म बढाएको थियो।
पछिल्लो मूल्य अनुसार‚ नेक्सन ईभीको मूल्य भारु २५ हजार (नेरु ४० हजार) बढेको छ। भारतीय बजारमा टाटा मोटर्सको उत्पादनमध्ये टियागो, पन्च र ह्यारिअर लोकप्रिय छन्।
नेपालमा भने टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो, टिगोर, अल्ट्रोज, नेक्सन, एच–५, सफारी, नेक्सन ईभी र टिगोर ईभी उपलब्ध गराउँदै आएको छ। कम्पनी नेपाली बजारमा नयाँ नेक्सन ईभी विशेष संस्करण (स्पेशल एडिशन) सार्वजनिक गर्ने तयारीमा छ। यो नयाँ विद्युतीय नेक्सनको बाहिरी र आन्तरिक डिजाइन पनि परिवर्तन र पृथक् हुने बताइएको छ।