काठमाडौंबाट अमेरिका र क्यानाडामा ठगी गरेको आरोपमा १३ जना पक्राउ
काठमाडौंको कल सेन्टरबाट अमेरिका र क्यानाडामा ठगी गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले १३ जनालाई पक्राउ गरेको छ।
काठमाडौंको धुम्बाराहीस्थित अर्बिट नेक्सस् प्रालिका सञ्चालक सहित १३ जनालाई पक्राउ गरिएको साइबर ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले बताए। अर्यालका अनुसार, अर्बिट नेक्सस्को कार्यालयबाट अमेरिकी र क्यानाडेलीे नागरिकलाई भ्रामक सूचना दिएर ठगी गरिंदै आएको थियो।
उनीहरूले अमेरिकी र क्यानाडेली नागरिकलाई आईपी एड्रेस ह्याक भएको सूचना पठाएर ब्यांक खाता सम्बन्धी र व्यक्तिगत जानकारी लिएर ठग्ने गरेको अर्यालले बताए। जसका आधारमा उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा सञ्चालक बूढानीलकण्ठ–१२ कपन बस्ने विजय श्रेष्ठ, भारतको महाराष्ट्रका निसान खैरे, भारतको फैजाबादका मनीष तिवारी, काठमाडौं–२९ रानीबारी बस्ने आमिन खड्का, लमजुङका करण गुरुङ, बनेपाका अनोज लामा रहेका छन्।
त्यस्तै, उदयपुरकी आरुषी राई, नुवाकोटकी युविना तामाङ, काठमाडौंका आरस तुलाधर, दोलखाकी सपना मग्राती, सुर्खेतका टीका राउत, झापाकी सुनीता राउत र नुवाकोटका सागर श्रेष्ठ पक्राउ परेका हुन्।