राजा वीरेन्द्रको ‘शान्ति क्षेत्रको प्रस्ताव’ ब्युँताउन घनश्याम भुसालको माग
नेकपा (एमाले) नेता घनश्याम भुसालले राजा वीरेन्द्रले पाँच दशक पहिला राखेको शान्ति क्षेत्रको प्रस्ताव ब्युँताउन माग गरेका छन्।
असार १ गते काठमाडौंमा आयोजित ‘कम्युनिष्ट आन्दोलनः सङ्कट र अबको बाटो’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा बोल्दै भुसालले २०३१ सालमा राजा वीरेन्द्रले ल्याएको शान्ति क्षेत्रको प्रस्ताव ब्युँताउनुपर्नेमा जोड दिएका हुन्।
“यही नाम राख्दा राजाको गन्ध आउँछ भने नाम अर्को राखैं। योभन्दा राम्रो नाम राखौं, केही भएन,” कार्यक्रममा भुसालले भने, “अब त यो झन् आवश्यक भयो। हामी शान्ति क्षेत्र हौं।”
भूमिगत कालमा पनि नेकपा (माले)ले यो प्रस्तावको समर्थन गरेको भुसालले स्मरण गरे। त्यसको औचित्यबारे प्रष्ट्याउँदै उनले भने, “हामीले त्यति वेला समर्थन गर्नुको कारण पनि भूराजनीतिक अवस्थिति नै थियो।”
राजा वीरेन्द्रले आफ्नो राज्याभिषेकका अवसरमा २०३१ सालमा अघि सारेको यो प्रस्तावलाई अमेरिका सहित विश्वका एक सय ३० राष्ट्रहरूले समर्थन गरेका थिए।