लक्ष्मी ब्यांकले ग्रीन बचत खाता पुनः सञ्चालन
लक्ष्मी ब्यांकले ग्रीन बचत खाता पुनः सञ्चालनमा ल्याएको छ।
५०औं विश्व वातावरण दिवसको अवसरमा ग्रीन बचत खाता पुनः सञ्चालनमा ल्याएको ब्यांकले जनाएको छ।
अनलाइन खाता खोल्ने सेवा, भिडियो–केवाईसी र डिजिटल ब्यांकिङ जस्ता सेवाका कारण ग्रीन बचत खाता कागजविहीन रहेको छ। यस खातामा ग्राहकले ८.०३ प्रतिशत ब्याजदरका साथै ग्रीन ब्यांकिङ प्याकेज (मोबाइल मनी र इन्टरनेट ब्यांकिङ) निःशुल्क प्राप्त गर्न सक्नेछन्।
लक्ष्मी ब्यांकको ‘एक खाता, एक रूख’ को प्रतिबद्धता अनुरूप ‘गो ग्रीन’ अभियानमा सहयोग पुग्ने गरी प्रत्येक ग्रीन सेभिङ खाता बापत ब्यांकले एउटा रूख रोप्नेछ। यसका साथै ग्रीन सेभिङ खाताबाट सङ्कलन हुने निक्षेपबाट नवीकरणीय ऊर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरितगृह ग्यास न्यूनीकरण लगायत दिगो विकास लक्ष्यहरू अन्तर्गत पर्ने क्षेत्रहरू र गतिविधिमा कर्जा प्रवाह गर्न उपयोग गरिने ब्यांकले जनाएको छ।
ब्यांकले आफ्नो ’ओरेन्ज लभ्स ग्रीन’ को दिगो प्रतिबद्धतालाई निरन्तरता दिनेछ। यसै प्रतिबद्धता अन्तर्गत ब्यांक पीसीएएफ (कार्बन एकाउन्टिङ फाइनान्सियलका लागि पार्टनरशिप) मा पनि सामेल भएको छ। उक्त साझेदारी मार्फत ब्यांकले औपचारिक रूपमा आफ्नो कार्बन उत्सर्जन मापन गर्ने र राष्ट्रिय प्रतिबद्धतासँग मिल्दोजुल्दो लक्ष्य र नीति अपनाई नेट-जिरो यात्रा अघि बढ्ने बताएको छ।