आइतबारको सार्वजनिक बिदा कटौती
सरकारले आइतबार दिंदै आएको सार्वजनिक बिदा कटौती गरेको छ। अब असार १ गतेदेखि आइतबार पनि नियमित कामकाज हुने भएको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिंदै आएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले बताए।
“यसअघि परीक्षणका रूपमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको थियो,” श्रेष्ठले भने, “आजको बैठकले आइतबारको सार्वजनिक बिदा कटौती गरेको छ।”
आइतबार दिंदै आएको बिदा असार १ गतेदेखि लागू हुने गरी कटौती गरिएको उनले बताए।
वैशाख १३ गतेको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। जस अनुसार, जेठ १ गतेदेखि दुई दिन बिदा हुँदै आएको थियो।
परीक्षणका रूपमा दुई दिन सार्वजनिक बिदा दिंदा कार्यालय समय भने बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म तोेकेको थियो। त्यस्तै, शुक्रबार पनि पूरै दिन कार्यालय समय तोेकेको थियो।