विमान दुर्घटना मृत्यु भएका १० जनाको शव काठमाडौं लगियो
तारा एअरको विमान दुर्घटनामा मृत्यु भएका १० जनाको शव पोखराबाट काठमाडौं लगिएको छ।
सोमबार साँझ नेपाली सेनाको हेलिकोप्टर १० जनाको शव बोकेर पोखराबाट काठमाडौंका लागि उडेको छ। मौसममा आएको खराबीले अन्य ११ जनाको शव ल्याउन सकिएको छैन। एक जनाको भने खोजी भइरहेको छ।
आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज दुर्घटनामा परेको थियो। सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित सानुसरेको पहाडमा जहाज दुर्घनाग्रस्त अवस्थामा भेटिएको थियो।
अहिलेसम्म २१ जनाको शव भेटिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। जसमध्ये १० जनाको शव पोखराबाट काठमाडौं लगिएको हो।
अन्य ११ जनाको शव सानुसरे पहाडबाट रहेका छन्। शव संकलन गरेको भए पनि प्रतिकूल मौसमका कारण तल ल्याउन सकिएको छैन।