चक्रपथ बाहिर पनि मेलम्चीको पानी वितरण गरिने
काठमाडौं उपत्यकाको चक्रपथ बाहिर पनि मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गरिने भएको छ।
आर्थिक वर्ष २०७९/८० को बजेटले चक्रपथ बाहिर मेलम्चीको खानेपानी वितरणका लागि पाइप बिछ्याउन रु.एक अर्ब ९२ करोड विनियोजन गरेको छ।
बजेटले मेलम्चीमा याङ्ग्री र लार्चे खोलाबाट पानी थप्ने प्रक्रिया पनि अघि बढाउने उल्लेख गरेको छ। त्यसै गरी, काठमाडौंमा सिस्नेरी र ठोस्ने खोलाबाट खानेपानी ल्याउन अध्ययन गरिने भएको छ।
बजेटले हरेक घरमा एक धारा पुर्याउने नीति घोषणा गरेको छ। दलितको घना बस्ती भएका क्षेत्रमा यस्तो कार्यक्रम प्राथमिकताका साथ शुरू गरिने बजेटले उल्लेख गरेको छ।
खानेपानीलाई रु.३७ अर्ब ३५ करोड छुट्याइएको छ।