सादा जीवनशैली अपनाउन जनप्रतिनिधिलाई एकीकृत समाजवादीको निर्देशन
नेकपा (एकीकृत समाजवादी) ले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई स्वच्छ र सादा जीवनशैली अपनाउन निर्देशन दिएको छ।
एकीकृत समाजवादीले जनप्रतिनिधिलाई चुनावका वेला गरिएका वाचा नभुल्न समेत निर्देशन दिएको छ। महासचिव बेदुराम भुसालद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, “निजी स्वार्थ, भ्रष्टाचार र अनियमितताबाट मुक्त रहँदै स्वच्छ एवं सादा जीवनशैली र असल आचरण अवलम्बन गर्नुहोला।”
पार्टीले एक हप्ताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न समेत निर्देशन दिएको छ। जेठ १७ गतेभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिइएको महासचिव भुसालले जानकारी दिए।
उनका अनुसार, विवरण सार्वजनिक गरे/नगरेको अनुगमन गर्न सम्बन्धित जिल्ला कमिटीलाई निर्देशन दिइएको छ। पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले पोखरा महानगरपालिका सहित २० वटा पालिका प्रमुखमा जित हासिल गरेको छ।