गठबन्धनका उम्मेदवार जिताउन कार्यकर्तालाई निर्देशन दिने कांग्रेसको निर्णय
स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन नेपाली कांग्रेसले कार्यकर्तालाई निर्देशन दिने भएको छ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले यस्तो निर्णय गरेको हो। कांग्रेसको निर्णयमा भनिएको छ, ‘पार्टी आबद्ध भ्रातृ संघ एवं शुभेच्छुक संस्थाहरूलाई केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहसम्म तत्काल स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरी पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देश गर्ने।’
यससँगै स्थानीय तह निर्वाचनका लागि कांग्रेसले सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार, सातै प्रदेश र ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउँदा काम, कर्तव्य र अधिकार समेत तोकिने भएको छ।